जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौता संशोधन नगरी पास गर्नु हुँदैन : खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना (एमसीसी) नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सम्झौता भएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरिकन सम्झौता भएको बताएका हुन् । एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका अनुसार एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत छ ।

‘नेपालको हितलाई सर्वोपरी राखेर यो एमसीसी सम्झौता सुरुमै भएन । नेपाली जनतालाई थाहा नदिइकन, राम्ररी अध्ययन नगरिकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने बुझ्दा पनि नबुझिकन र ती दस्तावेजहरू राम्रोसँग अध्ययन पनि नगरिकन नेपाली जनतालाई गुमराहमा राखेर सम्झौता गरियो । यो सम्झौता राष्ट्रघाती छ, संशोधन नगरिकन पास गर्न सकिँदैन’, खनालले पत्रकारहरूसँग संसद् बैठकपछि भने ।

उनले सम्झौताका केही प्रावधानहरू राष्ट्रघाती भएको जिकिर गरे । ती प्रावधानहरू संशोधन हुनुपर्ने र त्यसपछि मात्र पारित गर्न सकिने धारणा राखेका छन् ।

तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छँदा खनाल नेतृत्वमा एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार