चर्चित बलिउड संगीतकार बप्पी लहिरीको निधन

भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भएको छ ।

विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका लहरीको बुधबार बिहान मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको हो । एक महिनाको उपचारपछि गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज भएका थिए । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति उनलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित छन् । बप्पी लहिरी अन्तिमपटक सलमान खानसँग बिग बोस १५ रियालिटी सोको कार्यक्रममा देखिएका थिए । बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका ‘आइ एम अ डिस्को डान्सर’, ‘यार बिना चेन कहाँ रे’, ‘रात बाँकी’, ‘बम्बइ से आया मेरा दोस्त’ लगायत गीत चर्चित छन् ।

पछिल्लो समय भारतले गीत संगीतको क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ । ११ दिन पहिले मात्रै भारतीय चर्चित गायीका लता मंगेशकरको निधन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार