विश्वकप खेल्ने सोचमा रहेको नेपाललाई ठूलो झड्का, करणको ठाउँमा गुल्शनले खेल्ने

नेपाली क्रिकेट टिमका तीव्र गतिका बलर करण केसीले आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट गुमाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ढाडको समस्याका कारण करणले विश्वकप ग्लोबल छनोट नखेल्ने भएका हुन् । ब्याक इन्जुरी ठिक नभएकै कारण करणले ओमानमै सोमबार सम्पन्न चारदेशीय टी-२० सिरिजसमेत खेलेका थिएनन् । योसँगै नेपाललाई एउटा ठूलो झड्का लागेको छ । चोटकै कारण अर्का तीव्र गतिका बलर सोमपाल कामीसमेत ओमान भ्रमणमा छैनन् ।

अब क्यानले करणको स्थानमा तीव्र गतिका बलर गुल्शन झालाई ओमान पठाउने तयारी गरेको छ । करण भने नेपाल फर्किनेछन् ।

नेपालले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित क्यानडा, ओमान र फिलिपिन्स छन् ।समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। नेपालले ६ फागुनमा आयोजक ओमान, ७ फागुनमा फिलिपिन्स र ९ फागुनमा  क्यानडाविरुद्ध खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार