संसद भवन वरपर कडा सुरक्षा, दोब्बर सुरक्षाकर्मी परिचालन

निषेधित क्षेत्र तोडे तत्काल पक्राउ गरिने

काठमाडौं । गृहमन्त्रालले नयाँ बानेश्वरस्थित संसद् भवन वरपर सुरक्षाकर्मीको संख्या बढाएको छ । भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेपछि गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्ला र विशेष गरी नयाँ बानेश्वर स्थित संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा सर्तकता बढाएको हो ।

एमसीसीको विरोधमा संसद् भवन अगाडि दिनहुँ जसो मसाल जुलुस निकालेर प्रदर्शनहरु भइरहेका छन् । विभिन्न समुहहरुले भोली संसद भवन घेराउ गर्ने घोषणा गरेका छन् ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रभावकारी ढंगले सुरक्षाको बन्दोबस्ती मिलाइएको बताए । भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएपछि नयाँ बानेश्वर र त्यस आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गृह मन्त्रालयले समेत तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जोखिम पहिचान गरी सोही बमोजिम मजबुत सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले संवेदनशील क्षेत्रको पहिचान गरी सोही बमोजिम सुरक्षा सर्तकता अपनाइएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार