मतदाताको भावनाअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेँ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा मतदाताको भावनाअनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताएका छन् ।

आज भक्तपुरको सूर्यविनायकमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा कार्यालयमा झन्डोत्तोलनपछि बोल्दै उनले पहिलो चरणको निर्वाचनमा मतदाताको भावनाअनुसार देउवालाई सभापतिमा सघाएको बताएका हुन् ।

नेता सिंहले भने, “मैले केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ, पार्टी विधिसम्मत र संस्थागत रूपमा चल्नुपर्छ भन्ने एजेण्डा बोकेर महाधिवेशनमा मत मागेको हुँ तर मतदाताले मैले अघि सारेको एजेण्डालाई सर्वाधिक मत दिनु भएन, मतदाताले नेतृत्व परिवर्ततको चाहना नराखेको पाइयो, त्यसपछि सर्वाधिक मतदाताको भावनाअनुसार मैले प्रधानमन्त्री देउवालाई सभापतिमा सहयोग गरेको हुँ ।”

नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको तर्क गरे । उनले पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरेका छन् । आफूले दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेपछि पार्टीभित्रकै केहि नेताहरुले नियोजित रुपमा आफूमाथि प्रहार गरेको उनको गुनासो थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार