मन्त्री झाँक्रीद्वारा धोबीखोला करिडोरको अनुगमन, समस्या तत्काल समाधान गर्न निर्देशन

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज बिहान काठमाडौँको धोबीखोला करिडोरको अनुगमन गरेकी छन् ।

मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाण्डौ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको छ ।

अवलोकनपछि मन्त्री झाँक्रीले काठमाण्डौ उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, “करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा पुनः अनुगमनमा आउँछु ।”

मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ । बिहान ६ः३० मा बबरमहलबाट सुरु भएको अनुगमन बुढानिलकण्ठ पुगेर टुंगिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार