व्यापारमा चीनको असहयाेगः दैनिक दुई सय ट्रक आउने नाकाबाट अहिले २० वटा मात्र

लामो समयदेखि चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि व्यवसायी र स्थानीयले नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन् ।

चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिन बुधबार राजधानीमा प्रदर्शन गरे । कोभिड सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा खुलेका छैनन् । दैनिक दुई सयदेखि साढे दुई सय ट्रक सामान आयात हुने यी नाकाबाट अहिले मुस्किलले दैनिक २० वटा गाडीमात्रै भित्रिन पाएका छन् ।

चीनसँगको केरुङबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक सामान आयात भैरहेको भन्सार कार्यालयले जनाएका छन् । आयात हुने सामानमा पनि जलविद्युत्का सामान, तरकारी, फलफूल, स्याउ, लसुनलगायतका सामग्रीले प्राथमिकता पाउँछन् । जाडोका लागि ल्याएका सामान अझै आइनपुगेको व्यवसायीको गुनासो छ ।

चिनियाँ पक्षले कडाइ गर्दै थोरै ट्रक छाडेकाले सामान लोड भएका सयौं ट्रक चीनतर्फ अड्किएको हिमालयन सीमापार वाणिज्य संघले जनाएको छ । ‘चीनले एक प्रकारको अघोषित नाकाबन्दी नै गरेको छ,’ संघका महासचिव भरत कार्कीले भने, ‘पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन ।’ संघका अनुसार तातोपानी र केरुङतर्फ करिब पाँच सय गाडी रोकिएका छन् । सुरुमा चिनियाँ पक्षले कोभिडको कारण कडाइ गरेको बताए पनि कोभिड कम हुँदा पनि गाडीको संख्या बढाएन ।

केरुङ हुँदै आउने सामान चिनियाँ पक्षले केरुङ र रसुवागढीको बीचमा रहेको पुलमा झार्ने गरेको छ । त्यहाँबाट नेपाली कामदारले लोड गरी ल्याउँछन् । कोभिडको कारण चिनियाँ पक्षले सामान पुलमा झार्दा लोड गर्न पनि नेपाली व्यापारीलाई झन्झट छ । तातोपानी नाकामा भने चिनियाँ कन्टेनरले नै भन्सारसम्म सामान ल्याएर छाड्ने गरेकाले केही सजिलो छ ।  यो समाचार आजको नागरिक दैनिकमा छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार