५ हत्या मुद्दामा बादशाहलाई सफाइ, एमाले नेताहरूले चलखेल गरेको पीडितको आरोप

डाँका, चोरी, अपहरणदेखि आठ जनाको हत्या

‘मोस्ट वान्टेड’ नसिम अहमद मुसलमान (नसिम खान) उर्फ ‘बादशाह’ ले सफाई पाएका छन् । आइतबार र सोमबार पक्ष–विपक्षका कानुन व्यवसायीको बहस पैरवीपछि कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले उनलाई ५ मुद्दामा सफाइ दिएको हो ।

बादशाह ८ जनाको हत्या र अरू धेरै अपराधिक घटनामा संलग्न भएको आरोपमा कुख्यात अपराधीको रूपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । ०६४ माघपछि ९–१० वर्षयता भएका ८ वटा हत्याकाण्डमा उनको नाम जोडिएको थियो ।

पक्राउ परेका बादशाहमाथि २०६३ जेठ १९ गते कपिलवस्तु फुलिका ३ का धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको, २०६४ फागुन ६ गते मोतिपुर १ का भुवन भन्ने प्रेम परियारको गोली हानी हत्या गरेको, २०६४ चैत ९ गते हथिहवा ३ का शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको, २०६५ भदौ २० गते कपिलबस्तु नगरपालिका १० का पारसनाथ कोहारको श्रीमती अकला कोहारको हत्या गरेको, २०६५ कार्तिक ९ गते तत्कालीन पिपरा गाविस सचिव राममिलन प्रसाद गुप्ताको गोली हानी हत्या गरेको, २०६७ वैशाख १३ गते पकडी ६ का राजेन्द्रप्रसाद तिवारीको हत्या गरेको मुद्दा अदालतमा दर्तामा थिए ।

यसैगरी पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष फतेह मोहम्मदको छोरा ४ वर्षिय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको र २०६४ वैशाख १७ गते कपिलवस्तु नगरपालिका– १ का सन्दीपकुमार गुप्ता गुप्ता चढेको जिप रोकी हतियार (बन्दुक) देखाई २ लाख डाँका चोरी गरेको मुद्दाहरू रहेका छन् ।

गुप्ता र तिवारी हत्या मुद्दा गत साउन र भदौ अन्तिम साता मुल्तबी जगाएर प्रक्रिया अघि बढाइएको थियो । पारसनाथ कोहार जाहेरवाला रहेको कर्तव्य ज्यान मुद्दामा भने अदालतले खानलाई कसुरदार ठहर गरेको छ । तर उनलाई अदालतले सजाय सुनाउन बाँकी छ ।

खानलाई प्रहरीले ०७६ असार तेस्रो साता काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको थियो । अहिले उनी कारागारमा छन् । खान नेकपा एमालेका सदस्य समेत हुन्। खानकी श्रीमती फौजिया नसिम खान एमालेबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सांसद छिन् । खानले पनि २०६९ मा एमालेको पार्टी सदस्यता लिएका थिए । खानलाई छुटाउन एमालेका लुम्बिनी प्रदेशस्तरीय नेताहरूले चलखेल गरेको र मुद्दा हतारहतार फैसला गरिएको पीडित परिवारले आरोप लगाएका छन् ।

नसिम पक्राउ पर्दा पनि एमाले कपिलवस्तु (तत्कालिन नेकपा माओवादी र एमालेबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी) तरंगित बनेको थियो । उनको रिहाइको माग गर्दै एमालेका जिल्ला नेता झविलाल पोखरेलले सार्वजनिक रूपमा विज्ञप्ति नै  निकालेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार