क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदनः भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेश गरेको छ ।

रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई पत्र पठाएको थियो । रंगशालाको भौतिक तथा आर्थिक मूल्यांकन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो ।

महानगरले रंगशालाको भौतिक प्रगति मूल्यांकन गर्न सघन शहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याकंन गर्न नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो ।

प्रारम्भिक मूल्याकंन प्रतिवेनदअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत छ । रंगशाला निर्माणमा हालसम्म ५१ करोडबढी खर्च भएको देखिन्छ । दुई वटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेनु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन् । रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।

महानगरले प्रारम्भिक प्रतिवेदन पेश गरेपनि उक्त प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले अन्तिम रुप दिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले बताए । ‘फाइनल मूल्यांकन मन्त्रालयले पनि गर्न सक्छ । हामीलाई प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार चाँहि भौतिक प्रगति १४ प्रतिशत छ’, उनले भने, ‘त्यो प्रतिवेदन मेयरसावले मन्त्रालयमा लगेर पेश गर्नुभएको छ ।’

महानगरले बुझाएको प्रतिवेदनमा मन्त्रालयको चित्त नबुझे मन्त्रालय आफैले पनि मूल्याकंन गर्न सक्ने उनको भनाइ छ । सघन शहरीले तीन दिन अगाडि महानगरलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो । आर्थिक मूल्यांकनका लागि महागनरले नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो । संस्थाले आठ दिनअगाडि नै आर्थिक मूल्यांकनको प्रारम्भिक प्रतिवेदन महानगरलाई दिएको हो ।

दुवै निकायले बुझाएको प्रतिवेदनमा प्रारम्भिक भनिएको उनले बताए । नेपाल चार्टड् एकाउन्टेडको प्रारम्भिक प्रतिवेदन अनुसार ५१ करोड बढी खर्च भएको देखिएको उनले बताए । रंगशाला निर्माणमा लागेको ऋणको विषयमा भने मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ ।

‘प्रारम्भिक रुपमा ५१ करोडभन्दा केहि बढी खर्च भएको देखिन्छ । वित्तिय प्रगति हेर्न बाँकी छ । ऋण कति रहेछ भनेर स्वतन्त्र अडिटले तयार गर्ने प्रतिवेदनसँग भिडाउन बाँकी छ’, उनले भने, ‘छिटो गरौँ भनेको भएर प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा पठाइहाल्यौँ । ऋणलगायतका कुरा निकाल्न बाँकी छ ।’

बाँकी कामको विषयमा सरकारले नै निर्णय गर्न सक्ने उनले बताए ।

अनुमानित तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा हालसम्म ५४ करोडभन्दा बढी खर्च भइसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसको दाबी छ । ५४ करोडमा १७ करोडजति त ऋण नै रहेको उनले बताए । फाउण्डेशनले महानगरलाई स्वामित्व ग्रहण गरिदिन भनेर लेखेको पत्रमा रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत छ ।

रामपुरमा ३० हजार क्षमताको रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिका र फाउण्डेशनबीच १६ माघ २०७५ मा सहमति पत्रमा हस्ताक्षर भएको हो । जनस्तरबाट आर्थिक संकलन गरेर रंगशाला निर्माण गर्ने फाउण्डेशनको योजना थियो । यसबीचमा सिर्जित कोरोना महामारीका कारण पर्याप्त आर्थिक संकलन हुन सकेन ।

रंगशाला बनाउन महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरसँग २० बिघा छ कठ्ठा जग्गा लिएको हो । सहमति पत्रमा हस्ताक्षर भएको दुई वर्षभित्र रंगशाला निर्माण सम्पन्न हुने बताइएको थियो ।

फाउण्डेशनका अनुसार रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । रंगशालाको लागि ४० हजार जनाभन्दा बढीले आर्थिक सहयोग गरेका फाउण्डेशनले बताएको छ । –न्युज कारखाना

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार