सार्वजनिक जग्गामा बसोबास गर्दै आएकालाई आवासको प्रबन्ध मिलाउन सुरु

बुटवल उपमहानगरले सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएकालाई आवासको प्रबन्ध मिलाउन सुरु गरेको छ ।

उपमहानगरपालिकाले प्रकोपको जोखिम र ठूला विकासे परियोजनाका निर्माणका लागि सार्वजनिक जग्गामा घर बनाई बसोबास गर्दै आएका विस्थापित परिवारलाई आवासको प्रबन्ध मिलाउन सुरु गरेको हो । बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने चुरे पहिराबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीकोे कटानकोे उच्च जोखिमका रहेका, औद्योगिक करिडोर, तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउने यसअघि नै निर्णय भएको थियो ।

गत असारमा बसेको कार्यापालिकाको बैठकको निर्णय कार्यान्वयनका लागि उपमहानगरले वडा कार्यालयमार्फत त्यस्ता असुरक्षित र विस्थापित बस्तीका परिवारलाई निस्सा वितरण गर्न सुरु गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । विस्थापितको आवाससहितको व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका–१७ मा करिब ११ बिघा जग्गा यकिन गरेर राखिएको छ । त्यहाँ राखिने विस्थापितका लागि उपमहानगरले वडामार्फत स्थानान्तरण निस्सा वितरण गर्ने जनाएको छ ।

उपमहानगरले गत आवमा तिनाउ–दानव कोरिडोर, मोतिपुर औद्योेगिक कोेरिडोर जस्ता परियोजनाबाट विस्थापित हुनेलाई बुटवलमैै आवासका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यपालिकामार्फत विपन्न तथा विस्थापितका लागि नमूना सामूहिक आवास गृह निर्माण गर्ने निर्णय गरी मातहतका कार्यालयमा जानकारी पत्र पठाइएको बताउँदै प्रमुख सुवेदीले जनता आवश्यक जग्गा यकिन गरी तारबार गरिएको जानकारी दिए ।

विस्थापित तथा प्रकोपबाट उच्च जोखिममा रहेका प्रभावितका लागि आवश्यक आवासको प्रबन्ध मिलाउने निर्णय गर्दै यकिन गरिएकोे जग्गाकोे कित्ता नम्बरसहित मातहतका कार्यालययमा सिफारिस गरिएको प्रमुख सुवेदीले बताए । सोही सिफारिस र निर्णयका आधारमा अव्यवस्थित बस्तीमा रहेका, नदीको किनारमा उच्च जोेखिममा रहेका, पहिराको उच्च जोेखिममा रहेका र गौरवका परियोजनाबाट विस्थापित हुने परिवारकोे यकिन पहिचान गर्दैै तिनलाई तीन प्रकारका निस्सा वितरणका प्रक्रिया सुरु गरिएको प्रमुख सुवेदीकोे भनाइ छ ।

अव्यवस्थित बसोेबासीका रूपमा रहेका तर बस्ती जोखिममा नरहेका परिवारलाई हरियो रङको बसोबास निस्सा पत्र, अव्यवस्थित बसोबासका रूपमा रहेका तर तिनाउ र दानव नदी कटान र बाढीपहिराकोे उच्च जोखिममा रहेका बस्तीका लागि रातो रङको स्थानान्तरण निस्सा उपलब्ध गराइने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार