चीनबाट थप १२ लाख मात्रा भेरोसेल खोप आइपुग्यो

चीनबाट करिब १२ लाख डोज कोभिड विरुद्धको भेरोसेल खोप आइपुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा आज भेरोसेलको ११ लाख ८४ हजार खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।

नेपालले भेरोसेल, कोभिसिल्ट, एस्टाजेनेका, फाइजर, मोर्डना, जोनसोन लगायतका चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको छ । सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसमम दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको छ । जसमा लक्षित समुहले ७६.२ प्रतिशतले एक मात्रा र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै कुल जनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

पछिल्लो केहि दिनदेखि कोरोनाको संक्रमणदर बढ्दो छ । विज्ञहरुले नयाँ संक्रमणबाट जोगिनका लागि समेत खोप लगाउन सुझाव दिइरहेका छन् । सरकारले आगामी माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त डोज समेत दिने योजना बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार