काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’को तयारी

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । बैठकपछि आवश्यक निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको जानकारी प्रजिअ रिजालले दिए ।

त्यस्तै ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसीसी) र गृह मन्त्रालयबाट जारी निर्देशन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस विषयमा आन्तरिक छलफल सुरु भएको बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीसँगै चरणबद्ध छलफल भइरहेको बताउँछन्। तत्काललाई मास्क, सेनिटाइजरको प्रयोग, अनावश्यक भीडभाड नियन्त्रण र सचेतनासँगै खोपमा जोड दिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार