बलात्कारको घटनालाई आर्थिक लेनदेनमा मिलाउन खाेज्ने जनप्रतिनिधि र शिक्षक पक्राउ

बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् । १५ मंसिरमा स्थानीय ७७ वर्षीया महिलामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

‘घोडाघोडीकी ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको थियो,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘१५ मंसिरमा बलात्कार हुँदा १२ पुसमा मात्रै उजुरी आएपछि अनुशन्धान गर्दा वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेर छानबिन थालिएको छ ।’ उनका अनुसार पीडित महिलाका छोराले १२ पुसमा मात्रै इलाका प्रहरीका सुख्खडमा बलात्कार भएको भन्दै उजुरी दिएका थिए । १५ मंसिरमा भएको घटनामा उजुरी दिन किन ढिलाई भन्ने प्रश्नमा पीडित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाई भएको जवाफ दिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

प्रहरी प्रवक्ता जोशीले आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घटना ढिला गरी मात्रै बाहिरिएको हुन सक्ने बताए । ‘सुरुमा तीन लाखमा कुरा भएको देखिन्छ,’ प्रवक्ता जोशीले भने, ‘तर पछि भने जनि पैसा नपाइएपछि आफन्त प्रहरी कहाँ पुगेका हुन सक्छन्, यस विषयमा थप अनुसनधान भइरहेको छ ।’

पीडित पक्षले भने जनप्रतिनिधिको दबाबका कारण उजुरी दिन ढिलाई भएको भन्ने जवाफ दिएका छन् । घटनामा संलग्न भएको आशंका गरिएका ३-४ जना भने अझै पक्राउ परेका छैनन् ।

Loading...