क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन पर्यटन विभागकाे निर्देशन

पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो । विभागले क्यासिनो नियमावली, २०७० अनुरुप सञ्चालित कम्पनीहरूले आव २०७७/०७८ को इजाजत पत्र नवीकरण दस्तुर र आव २०७८/०८९ का लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न अनुरोध गरेको छ ।

आव २०७६/०७७ सम्म नियमित रूपमा रोयल्टी रकम दाखिला गरेको र नवीकरणका लागि २०७८ पुस समान्तभित्र दाखिला नगरेमा आर्थिक ऐन, २०७८ को दफा १६ (४) बमोजिम थप शुल्क तथा वार्षिक थप शुल्क लाग्ने छ । साथै समयमा नवीकरण नभएका कम्पनीको हकमा क्यासिनो नियमावलीमा व्यवस्था भएबमोजिम इजाजतपत्र रद्द हुने विभागले स्पष्ट पारेको छ ।

रोयल्टी र नवीकरण दस्तुर नबुझाउने कम्पनीहरूमा होटल सांग्रीलाको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालि तारागाउँ रिजेन्सी होटल परिसरको प्राइड इन्टरटेनमेन्ट, होटल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिएसन, मल्ल होटल परिसरको बेल्लिज नेपाल र एभरेस्ट हस्पिटालिटी एन्ड होटलको डेल्टइन नेपाल प्रालि छन् ।

यस्तै होटल टाइगर रुपन्देहिको एसएचएल म्यानेजमेन्ट सर्भिसेज, भ्यू होटल सिद्धार्थ परिवारले चलाएको ज्याकपट गेमिङ सेन्टर, बाराको इच्चा होटलमा रहेको स्माइल कलेक्सन, होटल सोल्टी थिवक्रिम होटेल्स तथा रिसोर्टस् काँकेको इम्पेरियल इन्टरनेसनल र काठमाडौंको सोल्टी होटलमा सञ्चालित माजोङ इन्टरटेनमेन्ट प्रालि रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार