नेपालमा दैनिक बढ्दै कोरोना संक्रमित, आज थप ४३५ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ हजार ७१५ र एन्टिजेन विधिबाट ३ हजार ५५२ जनामा परिक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो साताको तथ्यांक हेर्दा दैनिक नेपालमा कोरोना संक्रमण बढ्न थालेको देखिएको हो । यसअघि आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा र मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । अघिल्लो साताका आधारमा यो साता ०.९ प्रतिशतले संक्रमण दर बढेको छ ।

यस्तै, आज थप २३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार १७६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०१ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार