प्रदेश १ मा राष्ट्रियसभाका लागि आठ जनाले उम्मेदवारको मनोनयन दर्ता

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नं १ मा आज आठ जनाले मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (गठबन्धन दल) बाट तीन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुईले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।

राष्ट्रियसभाको अन्यतर्फ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत (झापा), एमालेबाट गुरु बराल (मोरङ) र राप्रपाबाट अम्बरबहादुर विष्ट (झापा), महिलामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र एमालेबाट सुमित्रा भण्डारी (झापा) र राप्रपाबाट रन्जु प्याकुरेल (झापा) रहेका छन् ।

यसैगरी अल्पसङ्ख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा ९सोलु० ले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका ९२ र स्थानीय तहका २७२ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार