जनकपुरका मेयरको कार्यकक्षमा वडाध्यक्षले लगाए ताला

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा वडाध्यक्षहरूले ताला लगाएका छन् ।

उप(महानगरपालिकाका सफाइ कर्मचारीलाई काममा लाग्न आग्रह गर्न गएका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई दुर्व्यवहार गरेको भन्दै वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन् ।

वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साहलगायतले सोमबार तालाबन्दी गरेका हन् । तालाबन्दीपछि वडाध्यक्षहरूले मेयर साहविरूद्ध नाराबाजी गरेका थिए ।

वडाध्यक्ष सिंहले भने, ‘मेरो वडामा गाई मरेको रहेछ, त्यसलाई हटाउन सफाइ कर्मचारीलाई आग्रह गरे तर, मरेको गाई हटाउनुको साटो मलाई नै दुव्र्यवहारसहित गालीगलौज गरियो । सञ्चय कोषको कार्यालय नजिक छाडा गाई मरेको छ । सफाइ कर्मचारी आएर गाई उठाइदिन आग्रह गर्दा फोनमै गाली गर्‍यो । कार्यालयमा आउँदा त झन ममाथि दुव्र्यहार गरे ।’

केही वडाध्यक्षहरूले सफाइको लागि पाँच महिनाअघि हस्ताक्षरसहित निवेदन दिएका थिए । त्यसयता उनीहरू सरसफाइको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । केही दिनअघि आन्दोलित वडाध्यक्षले नगर प्रमुख साहकै घरअगाडि ट्याक्टरमा फोहोर राखेर थुपारेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार