मिलन पाण्डेले भने- साझासँग एकता गर्नु गल्ती भयो, माफी माग्छु

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले दोस्रो पटक पार्टी एकीकरण गरेर गल्ती भएको स्वीकारेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदा नेतृत्वको हिसाबले आफूबाट गल्ती भएको बताए । पार्टी एकीकरण गर्दा बाहिरै बसेका उपाध्यक्ष अजिता राईहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उनले त्यसबेला एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन् ।

पछिल्लो समय विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र पाण्डे समूहबीच वैचारिक मतभेद छ । मिश्र समूहले संयोजक पाण्डेको अधिकार खोसेर भूमिका विहीन बनाएको छ ।

साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएका १३ जनासँग पाण्डेले माफी समेत मागेका छन् । ‘आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो । तसर्थ, तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईँहरू १३ जनासँग माफी माग्छु ।’

विवकेशील र साझा पार्टीबीच २०७७ मंसिरमा एकीकरण हुँदा तत्कालीन उपाध्यक्ष राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने निर्णय गरेका थिए ।

साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक एजेण्डामा स्पष्ट छलफल नभइ एकीकरण गर्नु नहुने उनीहरुको धारणा थियो । विवेकशीलका पूर्वसंयोजक उज्जवल थापाले पनि तत्काल साझा पार्टीसँग एकीकरण गर्नु नहुने अडान राखेका थिए । तर पार्टीमा बहुमत सदस्यले एकीकरण गर्ने निर्णय गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार