अस्ट्रेलियाले डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने

अस्ट्रेलियाले कोरोनाभाइरसको महामारीका कारण करिब २० महिनादेखि बन्द अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय गरेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै योग्य अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने बताएका हुन् ।

कोभिड-१९ महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको अष्ट्रेलियाले विद्यार्थीका लागि सुरूमा प्रवेश खुला गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री मोरिसनका अनुसार डिसेम्बरदेखि प्रतिबन्धात्मक व्यवस्थालाई थप खुकुलो पार्दै लगिने भएको छ । यद्यपि अस्ट्रेलिया जाने विद्यार्थीले क्वारेन्टाइन बस्न पर्ने वा नपर्ने निर्णय भने स्थानीय राज्य सरकारको हुनेछ ।

अस्ट्रेलियामा अहिलेसम्म सबैभन्दा बढी विद्यार्थी रहेका राज्यहरु न्यु साउथ वेल्स र भिक्टोरियाले पूर्ण मात्राको खोप लगाइसकेका विदेशी नागरिकलाई क्वारेन्टाइन बस्न नपर्ने बताइसकेका छन भने राजधानी रहेको क्यापिटल टेरिटोरीमा जान चाहनेले समेत क्वारेन्टाइन बस्न पर्नेछैन ।

विद्यार्थीले ३ दिनभित्रको कोरोना भाइरस नेगेटिभको प्रमाण भने पेस गर्नुपर्नेछ भने तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनुपर्नेछ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार