रावलले ओलीलाई भने- ममाथि भरोसा गर्नुस् (पूर्णपाठ)

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्छु भनेपछि आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा अग्रसर भएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत औपचारिक उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष रावलले ओलीको योग्यता, क्षमता जनताले देखिसकेको र नेतृत्व हस्तान्तरण गर्ने घोषणापछि आफू अघि सरेको उल्लेख गरेका छन् ।

ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीसमेत भई महत्वपूर्ण जिम्मेवारी बहन गरिसकेको भन्दै रावलले यस क्रममा देश र जनताको लागि उनले गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेको उल्लेख गरेका छन् ।

‘उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु,’ रावलले भनेका छन् ।

पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे आफूमाथि भरोसा गरी ढुक्क हुन रावलले ओलीलाई आग्रह गरेका छन् । ‘मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहने छु,’ उनले भनेका छन् ।

रावलले आफ्नो उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन आफूप्रति सद्भाव प्रदर्शन गर्न ओली तथा नेतृत्व तहमा रहेका सबै नेतालाई आह्वान गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार