देउवा पक्षबाट मतगणनास्थलमै कुटिए पौडेल पक्षका नेताकार्यकर्ता, ५ जना घाइते

रुपन्देहीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले नेता रामचन्द्र पौडेल पक्षका नेता-कार्यकर्तामाथि कुटपिट गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा भैरहवामा प्रदेश सभा ३ (१) को  मतगणना स्थलमा आक्रमण भएको हो । उक्त घटनामा पौडेल पक्षका नेता शैलेश पन्तसहित ५ जना घाइते भएका छन्।

नेता पन्तको नाकको हड्डी फ्याक्चर भएको छ भने हाल उनी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत छन् ।  घाईते अन्यको भिम अस्पताल भैरहवामा उपचार भई रहेको छ।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको कांग्रेस नेता मातृका यादवले आरोप लगाए । मतगणना भैरहेको अवस्थामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गरेका थिए ।

तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङ लगायतका केही युवाहरुले आक्रमण गरेको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताएका छन् ।

घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार हुन् । आक्रमण भएपछि मतगणना स्थगित भएको छ । मतगणनामा हार्ने निश्चित भएपछि आक्रमण गरेको पौडेल पक्षको आरोप छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार