नियमित काममा फर्किए सर्वोच्चका न्यायाधीश

गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरु नियमित काममा फर्केका छन् ।

बिहीबार बसेको न्यायाधीशहरुको फुलकोर्ट बैठकले गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधि पारित गर्ने निर्णय गरेसँगै न्यायाधीशरु इजलासमा फर्किएका हुन् । फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ ।

बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुलकोर्ट बसेर निर्णय कार्यान्वयनमा आउने छ । सो निर्णय नआउन्जेलसम्म न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका तामेली, फैसला संशोधनलगायत मुद्दा हेर्नेछन् । प्रधानन्यायाधीश जबराले शुक्रबारका लागि १० इजलास तोकेका छन् ।

तर, कानुन व्यवसायीहरु भने सो निर्णय सकारात्मक भएपनि आफ्नो आन्दोलन न्यायिक शुद्धीकरणका लागि भएकाले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलनबाट पछि नहट्ने अडान लिएका छन् । उनीहरुले राजीनामा नआउञ्जेल बहसमा नजाने बताएका छन् ।

करिब ४ हप्तादेखि न्यायाधीश र कानुन व्यवसायीहरु न्यायिक शुद्धीकरणका लागि भन्दै आन्दोलित थिए । कानुन व्यवसायीले प्रधान्यायाधीशविरुद्ध दिनहुँ सर्वोच्च परिसरमा धर्ना दिँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार