चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी

हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ । चिसो बढ्न थालेपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

त्यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ । हिमाली क्षेत्रमा चिसो बढेपछि विद्यालयको पढाइ प्रभावित बन्न थालेको छ । चिसो बढेसँगै विद्यालयको चौरमा विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्न थालिएको छ ।

त्यहाँको बडीमालिका नगरपालिका–९ ढम्कनेमा रहेको सरस्वती आधारभूत विद्यालय चिसो बढेपछि विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए । उनका अनुसार विद्यालयमा १६० जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आइरहेको छन् । तीमध्ये १५० विपन्न विद्यार्थी पढ्ने गरेका छन् । उनीहरु जुत्ता, कपडा किन्न सक्दैनन्, हिउँ झैँ तुसारो पर्छ, चिसोले पठनपाठनमा समस्या भएपछि आगो बालेर पढाइ सुरु भइरहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।

चिसोले बालबालिकामा रुघा, ज्वरो आउने, विद्यार्थीका हात फुट्ने, गाला चर्किने समस्या देखिने गरेकाले विद्यार्थीको नियमित पढाइ हुन नसकेको धामीले बताए । विद्यालयमा मङ्सिरको पहिलो सातातिर हिउँ पर्ने सुरु हुन्छ, अहिले चिसो बढ्न थालेको छ । दसैंतिहारपछि विद्यालय सञ्चालन भएको र त्रैमासिक परीक्षा पनि आउन थालेकाले चिसो बढेको भए पनि पढाउनुपर्ने बाध्यता छ । त्यसैले विद्यालयको चौरमा आगो बालेर विद्यार्थीलाई अध्ययन गराउने गरेको प्रअ धामीको भनाइ छ ।

विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी राम्रोसँग लुगासमेत नलगाएर खाली खुट्टा आउने गरेका छन् । उनीहरुलाई चिसो छल्न न टोपी हुन्छ, न ज्याकेट १ चिसोमा पढाउने कार्य उनीहरुका लागि निकै कष्टकर हुने गरेको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा अधिकांश जनजातिका बालबालिका पढ्न आउँछन् । केही बालबालिका विद्यालयको पढाइ छोडेर चिसो छल्नका लागि आमाबुबासँग बेँसीतिर झरिसकेका छन् ।

वडाको पहलमा भवन शौचालय बन्ने भए पनि भवनभित्र पनि चिसो हुने गरेकाले जाडोको समयमा विद्यार्थी र शिक्षकलाई समस्या हुने गरेको विद्यालयका प्रअ धामीले बताए । चिसोबाट बच्नका लागि फ्लर सेटिङ, पिफम, कार्पेट र वालमा बाल पेपर तथा एसिडिसी भएको भए पढाइ प्रभावित नहुने शिक्षकहरूले बताएका छन् ।

चिसो छल्नलाई विद्यार्थीका लागि टोपी, मोजा, ज्याकेट स्वेटरजस्ता न्यानो लुगाहरूको आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धामीले बताए । विद्यालयमा हिउँ परेका बेलामा हिउँमै पढाइ हुने गरेको छ ।

शिक्षा समन्वय एकाइ बाजुराका अनुसार बाजुरामा २७१ विद्यालयमध्ये एक सय विद्यालय हिमाली क्षेत्रमा पर्छन् । चिसो मौसमका बेला जिल्लाका माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका केही विद्यालयमा पठनपाठनमा समस्या हुने गरेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार