वलेवा विमानस्थल पुनर्निमार्णपछि नियमित उडान थाल्ने विषयमा छलफल 

नेकपा एमालेका नेता लिल बहादुर थापाले बागलुङको बलेवा विमानस्थल पुनर्निमार्णको काम तत्काल सम्पन्न गरि उडान सञ्चालनको तयारी थाल्न नियामक निकायको ध्यानाकर्षण गराएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण को कार्यालयमै पुगेर बागलुङका पूर्व जिल्ला सभापति समेत रहेका थापाले महानिर्देशक राजकुमार क्षेत्रीलाई विमानस्थल पुनर्निर्माण काम तत्काल सम्पन्न गरि नियमित उडानको तयारी थाल्न  ध्यानाकर्षण गराएका हुन् ।

विमानस्थल विस्तार तथा कालो पत्रेको काम गुणस्तरीय र स्टिमेट अनुसार गर्न तथा पुनर्निमार्णको काम सकिए लगत्तै नियमित उडानको तयारी थाल्नेगरि  अहिलेदेखि नै काम थाल्न समेत थापाले माग गरेका थिए । कालो पत्रेको काम गर्दा डिपिआरमा उल्लेख भएको भन्दा साँघुरो बनाउने गरि काम गरेको, तार बार लगायतका बनेका संरचना गुणस्तरीय नभएको जस्ता सञ्चारमाध्यममा आएका गुनासालाई तत्काल सम्बोधन गर्न समेत थापाले महानिर्देशक क्षेत्रीलाई आग्रह गरेका थिए ।

नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा बलेवा विमानस्थल बागलुङको भविष्यसँग जोडिएको विषय भएकाले पुनर्निमार्णपछि यसको सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत नेता थापाले महानिर्देशकसँगै प्राधिकरणमा कार्यरत अन्य विज्ञ कर्मचारीसँग छलफल गरेका थिए ।

छलफलमा विज्ञहरूले बलेवा विमानस्थल निर्मिाणाधिन कालिगण्डकी कोरिडोरको केन्द्रमा पर्ने भएकाले यसलाई नियमित उडान सञ्चालनको अलावा, एभिएसन स्पोटर्सको रुपमा अघि बढाउन सके  धौलागिरी क्षेत्रकै मुहार फेरिने धारणा राखेका थिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै त्यहाँको अल्ट्रालाईट, प्याराग्लाइडिङजस्ता पर्यटक केन्द्रित व्यवसाय वैकल्पिक स्थानमा सार्नुपर्ने अवस्था आउने हुँदा यसलाई बलेवा लैजानेगरि पहल थाल्नुपर्नेमा समेत उनीहरूको जोड थियो । यस्तै छलफलमा बागलुङकै ढोरपाटन विमानस्थलका विषयमा समेत थापाले चासो राखेको थिए ।

बागलुङका हरेक स्थानीय तहमा आकस्मिक पर्दा सेवा दिन सक्ने गरि हेलिकप्टरको अवतरण गर्ने व्यवस्थित हेलिप्याड निर्माण तथा पर्यटकीय क्षेत्र ढोरपाटनमा बन्द विमानस्थल सञ्चालनका  विषयमा समेत पहल थाल्ने विषयमा समेत प्राधिकरणका अधिकारीसँग कुराकानी भएको थियो । प्राधिकरणका महानिर्देशकसँग को छलफलमा नेता थापासँगै सञ्चार उद्यमी तथा नेकपा एमालेका युवा नेता राजु सुवेदीसमेत सहभागी थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार