सत्तारुढ पाँच दलको निष्कर्ष : न्यायालयको विवादले छिटो निकास पाउनुपर्छ

सत्तारुढ पाँच दलीय गठबन्धनले केही दिनयता सर्वोच्चमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ ।  सिंहदरबारमा मंगलबार बसेको गठबन्धन अन्तर्गतको उच्चस्तरीय राजनीतिक समन्वय समितिले राज्यको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको हो । बैठकले न्यायालयभित्र छिटै निष्कर्ष निस्कने विश्वास समेत व्यक्ति गरेको काँग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
यस्तै, बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय समेत उनले बताएका छन् ।
त्यस्तै राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा गठबन्धनको सहकार्यलाई अघि बढाउने गठबन्धनले जनाएको छ । त्यस्तै गठबन्धनको निर्माणसँगै जटिल सङ्क्रमण अन्त्य भएर मुलुकको राजनीति लिकमा फर्किएको बैठकपछि गठबन्धनका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनले स्थिर सरकारको निर्माण तथा राजनीतिक स्थिरताको आशासँगै स्वदेशी तथा विदेशी लगानीकर्ता तथा उद्यमीहरू समेत उत्साहित भएको दाबी गरेको भने गठबन्धनलाई जनतासँग छिटो र सहज रूपमा सेवा सुविधा उपलब्ध गराई  जनताको विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्न क्रियाशील रहेको जनाइएको छ । त्यस्तै बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरूको पुनर्स्थापनाका लागि प्रभावकारी रूपमा काम अघि बढाइएको काँग्रेस नेता एवं सञ्चारमन्त्री कार्कीले जानकारी दिएका छन् ।
..मंगलबार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको पहिलो बैठक बसेको हो । बैठकमा गठबन्धन दल आबद्ध शीर्ष नेताहरूको सहभागिता थियो ।  पाँच दलीय गठबन्धनले आगामी दिनमा चुनावी तालमेल गर्न, सरकारका काम÷कारबाहीमा समन्वय गर्न, गठबन्धनबिच अन्तर्विरोध भए निवारण गर्न भन्दै कात्तिक २२ गते समन्वय समिति गठन गरेको हो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार