नेपाली रेफ्री राजकुमार एफआईबीएको निर्णायक भूमिकामा

नेपाली बास्केट बल रेफ्री राजकुमार महर्जनले दक्षिण एसियन बास्केट बल च्याम्पियनसिप (साबा) मा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

सोमबारबाट बंगलादेशको राजधानी ढाकामा सुरु भएको दक्षिण एसियन बास्केट बल च्याम्पियनसिपको छैटौं संस्करणमा रेफ्री महर्जनले सहभागिता जनाएका हुन् ।

नेपाल बास्केट बलले ‘नेपाल यस प्रतियोगितामा सहभागी नभए पनि एफआईबीए रेफ्री राजकुमार निर्णायक भूमिकामा रहेको‘ जनाएको छ । राज कुमारले बंगलादेश र श्रीलंकाबीचको खेल खेलाएका थिए ।

यसअघि यसै प्रतियोगितामा महिला तथा पुरुष टोलीका लागि पत्र आए पनि नेपाल बास्केट बल संघको लापरबाहीको कारण नेपालले महिला तथा पुरुष दुबै विधामा सहभागिता जनाउने अवसर गुमाएको थियो । जुन विषयलाई लिएर महिला टोलीकी कप्तान सदिना श्रेष्ठ र पुरुष टोलीका कप्तान सदिस प्रधानले असन्तुष्टि पोखेका थिए ।

नेपालले अघिल्लो साल नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेयता बास्केट बलमा कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन ।

१३औं सागमा नेपालले महिलातर्फ रजत पदक तथा पुरुषतर्फ कास्य पदक जितेको थियो । यस्तै थ्री बाई थ्री मा पुरुष टोलीले रजत तथा महिलाले कास्य जितेको थियो । यता, संघले पछिल्लो समय कुनै पनि बास्केटबलका प्रतियोगिता आयोजना गर्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार