राष्ट्रिय राजनीति हाँक्न पार्टी सभापतिमा उम्मेदवारी दिने नेता सिंहको भनाई

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा आफूलाई पार्टी सभापतिमा उम्मेदवारी दिनबाट कसैले रोक्ने नसक्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौँ महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता सिंहले आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिने बताएका हुन् । उनले १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको र कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुई पटक संसद् भंग गरेको आरोप लगाए ।

उनले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पु-याउनुपर्ने बताएका छन् । त्यस्तै नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरे । उनले बुढानीलकण्ठ नदेखेको झैँ गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए ।

नेता सिंहले भने, ‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा बस्छ । वर्किङ कमिटी कार्यालयमा राख्नुपर्‍यो नि भनेर हिजो मैले बोलेँ । भवनको के काम । बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या । उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी बूढानीलकण्ठ भगवानको पूजा गर्न जान्थेउँ नि त ।’

त्यस्तै उनले विधि र नियम उल्‍लंघन गरेर पार्टी नेतृत्वले सधैँ कार्यकर्तालाई अन्याय गरेकाले आफूहरूले राजनीतिक न्यायको खोजी गर्नु परेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार