ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना : चार जनाको मृत्यु, १४ घाइते

ओखलढुंगामा एकादशी मेलाका तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।

प्रमुख काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन ।

प्रहरी प्रमुख काफ्ले बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताए । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताए । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार