कांग्रेसमा पहिला नेतृत्व, पछि नीति

कांग्रेसले आसन्न १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन गर्ने भएको छ। नीति र कार्यक्रमबारे छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले गरेको छ।

महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिले नै विधान महाधिवेशन बोलाउने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘नयाँ निर्वाचित नेतृत्वले विधान महाधिवेशन गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘समय व्यवस्थापनका लागि यसो गर्नुपरेको हो।’ पदाधिकारीबीच सहमति गरी विधान संशोधनलाई पछि सारिएको शर्माले बताए।

नेता डा। रामशरण महतले महाधिवेशनको तयारीका लागि समय कम भएकाले यस्तो निर्णय गर्नुपरेको बताए। ‘कतिपय जिल्लामा क्रियाशील विवादका कारण भित्री रूपमै समस्या छ’, नेता डा। महतले भने, ‘त्यसकारण पनि राष्ट्रिय महाधिवेशनपछि पार्टीको नीतिबारे बृहत् छलफल गर्ने प्रस्ताव आयो। स्वीकार गर्नुको विकल्प थिएन।’

कांग्रेसले यसअघि नीति र कार्यक्रम पारित गरी नेतृत्व चयन गर्दै आएको थियो। तर, यसपटक महाधिवेशन सम्पन्न गर्न समय अभाव हुने भन्दै कांग्रेसले नेतृत्व चयनमा मात्र केन्द्रित हुने निर्णय गरेको हो। बैठकले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरेको छ। प्रदेशस्तरीय अधिवेशन गर्न संयोजक तोकेको छ। कांग्रेसले पाँचौँ पटक मिति सारी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन तोकेको छ।

‘हामीसँग समय अभाव भयो। नत्र केन्द्रीय कार्यसमितिले नै बिरोध गथ्र्यो’, अर्का नेता धनराज गुरुङले भने, ‘नयाँ निर्वाचित समितिले नयाँ तौरतरिकाअनुसार नीति तथा कार्यक्रम माथि छलफल गर्नेछ। यो अनौठो कुरा हैन।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार