सडकमा युटिलिटी : सडक विभाग बनाउने अरू भत्काउने

काठमाडौँ उपत्यकामा विद्युत्, टेलिकम, इन्टरनेट, खानेपानी, ढललगायत संरचनाका कारण कतै सडक खनेर खाल्डो भएको छ त कतै सडक र सडक पेटी अवरुद्ध भएका छन् । सडक विभागले सडकको निर्माण गर्ने र अरू विभिन्न निकायले आवश्यक संरचना राख्ने भए पनि आपसी समन्वय नहुँदा समस्या आएको हो । सडकमा कुनै निकाय बनाउने र कुनैले भत्काउने हुँदा सडक प्रयोगकर्ताले दुःख पाइरहेका छन् । यिनै समस्या समाधानका लागि वर्र्षौंदेखि युटिलिटी करिडोरसम्बन्धी ऐनको आवश्यकता महसुस भए पनि ऐन निर्माण अघि बढेको छैन ।

काठमाडौँका सडकमा आवश्यक संरचना ९युटिलिटी० राख्नका लागि खन्दा खाल्डैखाल्डा भएको छ । आपसी समन्वयमा काम नभएकाले पनि पहिले खन्ने पछि भत्काउने काम भएको सडक विभागले जनाएको छ । युटिलिटीका लागि सडक खन्दा नै त्यही निकायले पहिलेको अवस्थामा ल्याउनुपर्ने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। उनले भने, “पहिलेको अवस्थामा ल्याउन ढिलो गर्दा सडक बिग्रने गर्छ ।”

अहिले महाराजगञ्जदेखि बूढानीलकण्ठसम्मको सडकमा ठाउँठाउँमा खाल्डो रहेको छ । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष तारहरू जमिनमुनिबाट लैजानका लागि खाल्डो खनेकामा उसले पुर्न बाँकी रहेको महानिर्देशक थापाले बताएका छन् । विभागले निर्माण सुरु हुनुपहिले लिखित समझदारी गरेर तारको काम सकिएपछि सडकलाई पहिलेको अवस्थामा ल्याउनुपर्ने समझदारी भएको थियो । प्राधिकरणले केही समय पहिलेसम्म पनि पानीले गर्दा सडकको खाल्डा टाल्न नसकिएको जनाएको थियो । उनले भने, “अहिले वर्षा कम भइसकेकाले काम हुनसक्छ ।”

धोबीखोला करिडोरमा पनि प्राधिकरणकै कारण सडकमा ठाउँठाउँमा अवरोध रहेको छ । प्राधिकरणले यहाँको पैदल यात्रुमार्ग नै ढाकिने गरी निर्माण सामग्री राखेको छ । पैदल यात्रु मार्गबाहेक झण्डै आधा मिटरसम्म सडकमा पनि ती सामग्री रहेको देख्न सकिन्छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कारणले पनि वर्षेनि सडकमा खाल्डाखुल्डी हुने गरेको छ । खानेपानीको चुहावट हुँदा तत्काल नटाल्दा समस्या आउने गरेको विभागले जनाएको छ । गत वर्ष मेलम्चीको पानी आएपछि चुहावट बढेको र सडकमा खाल्डा बढेको थियो ।

सडक निर्माण गर्ने एउटा निकाय र युटिलिटी सञ्चालन गर्ने अर्को निकाय हुँदा समस्या आउने गरेको महानिर्देशक थापाले बताएका छन् । सडकको र ती अरू निकायको योजना नमिलेकाले सडक प्रयोगकर्ताले दुःख पाउने गरेका छन् । सडकमा पहिले विभागले कालोपत्र गर्ने पछि अरूले खन्ने काम वर्षांैदेखि भइरहेको उनले बताए । यही समस्या हल गर्ने उद्देश्यले युटिलिटी करिडोरको अवधारणा आए पनि कानुन अभावमा कार्यान्वयन हुन सकेको छैन । सडक निर्माण गर्दा नै युटिलिटीका लागि एउटा डट बनाउँदा समस्या नहुन सक्छ । त्यहीँ डटबाट नै नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायकले तारहरू लैजान सक्नेछन् । उनले भने, “सडकको अहिले जस्तो खराब अवस्था नहोस् भनेर नै अवधारणा आएको हो ।”

विभागले काठमार्डौँ उपत्यकाबाहिरका स्थानमा डट राखेर त्यही युटिलिटीका व्यवस्थापन गर्ने योजना बनाएको छ । विस्तारका क्रममा रहेको नौबिसे–मुग्लिन सडकमा टेलिकमसँगको समन्वयमा युटिलिटीका लागि डट राख्न लागिएको महानिर्देशक थापाले बताए । उनले भने, “हामी बिस्तारै अरू सडकमा पनि त्यही गर्दै जाने योजना बनाएका छौँ ।”

काठमाडौँ उपत्यकाबाहिर जसरी उपत्यकामा भने युटिलिटीको व्यवस्थापन सजिलो छैन । विभागको अधिकार क्षेत्र (राइट अफ वो) आफ्नो हुँदा सहमति गरेर डट राख्न सकिने भए पनि काठमाडौँ उपत्यकामा धेरै निकाय भएकाले समन्वयमा समस्या रहेको महानिर्देशक थापाले बताएका छन् । उपत्यकामा २१ पालिका भएकाले धेरै सरोकारवाला भएका ठाउँमा समन्वय गर्न गाह्रो रहेको उनले बताए ।

सडक निर्माण गर्नुपहिले एउटा डट बिच्छ्याएर त्यहीँबाट विद्युत्, टेलिकम, इन्टरनेट सेवा प्रदायकले आ–आफ्नो सेवा सञ्चालन गर्ने र त्यसको नियमित मर्मत खर्च उनीहरूबाट पनि उठाएर गर्ने नै यसको समाधान भएको उनले भने । युटिलिटी विधेयक स्वीकृत भएपछि त्यही मोडेलमा जान सकिन्छ । उनले भने, “त्यो नभएसम्म अहिले सडकको अवस्था भद्रगोल छ ।”

उपत्यकामा कतै सङ्घीय त कतै स्थानीय सडक छन् । कतैकतै सङ्घकै उपत्यका विकास प्राधिकरणलगायत निकायले बनाएका सडक पनि छन् । स्थानीयवासीले भने सडक भन्नासाथ विकासको नै जिम्मेवारी भन्ने बुझेर गुनासो गर्दै आएका छन् । अहिले पनि ललितपुरमा ठाउँठाउँमा ललितपुर महानगरपालिकाले काम गरिरहेको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीमा प्रसूति गृह अगाडि निर्माण गरिरहेको छ । त्यहाँ समयमा निर्माण नसकिँदा वा अरू निकायले काम बिगार्दा पनि सडक विभागले नै आलोचना सहनु परेको छ ।

Loading...