प्रतितोला ९४ हजार ६ सय पुग्यो सुनको मूल्य

नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँले उकालो लागेको छ । यसअघि शुक्रबार ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९४ हजार ६०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ छ ।

त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा १० रुपैयाँले बढेर एक हजार २९५ रुपैयाँ कायम भएको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ ।

सुनको कोटा बढाउन व्यवसायीको माग
महासङ्घले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिए ।

हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउनुपर्ने तथा सुनको वितरण काठमाडौँ केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिएका छन् । हाल राष्ट्रबैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार