कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नं २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन प्रारम्भ हुँदैछ । यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । समितिका संयोजक महादेवप्रसाद यादवले भने अर्को निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन प्रारम्भ गर्ने जानकारी दिए ।

समितिले यही कात्तिक ११ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ÷नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर छ, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ ।

यसैगरी प्रदेश अधिवेशन आगामी मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गरिने कार्यतालिका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार