माधव नेपालले भने- एमाले छोड्ने लहर चलेको छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले छोड्ने लहर नै चलेको बताएका छन् ।

शुक्रबार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बसेको स्थायी कमिटी बैठकमा पार्टी गठनदेखि अहिलेसम्मको अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै उनले अन्य पार्टी छाडेर नेकपा एसमा आउनेको लहर चलेको पनि बताए ।

‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी एमाले छोड्नेको लहर चलेको छ’, अध्यक्ष नेपालको भनाइ थियो । डडेलधुराबाट एमाले अध्यक्ष सहित ठूलो पंक्ति पार्टी प्रवेश गरेको बताउँदै अध्यक्ष नेपालले अन्यत्र पनि उस्तै लहर आएको बताए ।

अरु पार्टीले पनि सहकार्यको प्रस्ताव राखेको उनको भनाइ छ । ‘विभिन्न दलले हामीसँग राजनीतिक छलफल गर्नका लागि पनि प्रस्ताव राखेका छन्,’ नेपालले बैठकमा जानकारी गराउँदै भने, ‘कतिपयसँग विभिन्न तहमा छलफल भएका छन् । उहाँहरु हामीप्रति आर्कषित हुनु भएको छ र सहकार्य गर्न चाहानु भएको छ ।’

स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन् । मिर्गौला प्रत्यारोपण पछि आराम गरिहेका खनाल पहिलो पटक पार्टी बैठकमा सहभागी भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार