वाग्मतीमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल आर्थिक मामिला र लामा स्वास्थ्यमन्त्री

बागमती प्रदेशका बिहीबार मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका निमा लामालाई स्वास्थ्य मन्त्री बनाएका छन् ।

नव नवनियुक्त दुबै मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्ण भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानले शपथ लिइसकेका छन् ।

११ कात्तिकमा शपथ लिएका मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा गठबन्धनका ५९ जना सांसदबाट विश्वासको मत प्राप्त गरेका थिए । विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने तयारी भए पनि गठबन्धनभित्र मन्त्री बनाउने विषयमा विवाद भएको थियो ।

बाग्मतीमा हाल १०९ सांसद सदस्य रहेकोमा संविधानअनुसार कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री विस्तार गर्न सकिने भएकाले मन्त्रालय विभाजन गरेरै भए पनि २२ सदस्यीयसम्म मन्त्रिपरिषद् बनाउने मुख्यमन्त्री पाण्डेको तयारी रहेको छ । केही समयपछि नै गठबन्धनभित्र सहमती गराई अरू मन्त्री थप गर्ने तयारी भएको बताइएको छ । मुख्यमन्त्री पाण्डेले मन्त्रालय विभाजन गरेर १३ मन्त्री र तीन राज्यमन्त्री बनाउने तयारी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार