नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ३ जना, अधिकारी बलिया दाबेदार

नेपाल टेलिकमको भावी नेतृत्वका लागि प्रबन्ध निर्देशक पदमा दरखास्त दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरिएको छ । सञ्चारमन्त्री महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित छनोट समितिले सर्टलिष्टमा परेका ८ जना मध्येबाट ३ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस भएका तीन जना टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, दसौँ तहमा कार्यरत डिल्ली अधिकारी र संगीता पहाडी अर्याल हुन् ।

बिहीबार सिफारिस भएका ३ नाममध्येबाट एक जनालाई आगामी मन्त्रीपरिषद् बैठकले टेलिकमको प्रबन्ध निर्देशक बनाउनेछ ।

तीन जनामध्ये अधिकारी सबैभन्दा बलिया दाबेदार मानिन्छन् । नेपाल टेलिकमको प्रबन्ध निर्देशककै कार्यालयमा प्राविधिक सल्लाहकारको रूपमा कार्यरत उनले यसअघि लिएका सबैजसो जिम्मेवारीमा उत्कृष्ट भूमिका निर्वाह गर्ने गरेको नेपाल टेलिकम स्रोत बताउँछ । वाईम्याक्स भित्र्याउने काममा प्रमुख भूमिका खेलेको, इन्टरनेशनल बिजनेसमा रहँदा व्यापार बढाएको, स्याटेलाईटमा आधारित इन्टनेशनल कनेक्टिभिटीलाई अप्टिकलमा बदल्ने कार्यमा उनले उल्लेख्य भूमिका निर्वाह गरेको चर्चा हुने गरेको छ ।

यसबाहेक सिफारिसमा परेकी ब्याकबोन डिपार्टमेन्टमा कार्यरत अर्याल पनि भावी नेतृत्वका लागि बलियो दाबेदार रहेको टेलिकम स्रोत बताउँछ । यसअघि नै एक कार्यकाल प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिसकेका आचार्य भने अघिल्लै कार्यकालमा गैर प्राविधिकलाई प्रबन्ध निर्देशक नियुक्त गरेको भन्दै टेलिकमभित्रबाटै आलोचना खेपेकाले फेरि सोही जिम्मेवारीमा दोहोरिने सम्भावना न्यून रहेको जानकार बताउँछन् ।

सरकारले टेलिकमको प्रबन्ध निर्देशकका लागि दरखास्त आह्वान गरेपछि यसमा १० जनाले आवेदन दिएका थिए । छनौट समितिले तीमध्ये ८ जनाको नाम सर्टलिस्टमा समावेश गरी उनीहरूबाट व्यावसायिक कार्य योजना मागेको थियो । व्यावसायिक कार्ययोजनासहित अन्तर्वार्तामा आवेदकहरूबाट भएको प्रस्तुतिको आधारमा ३ जनाको नाम सिफारिस गरिएको समितिका संयोजक गुरुङले टिभी अन्नपूर्णलाई बताए ।

सर्टलिस्स्टमा आचार्य, अधिकारी र अर्यालसहित डा। विमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, चन्द्रमोहन झा र प्रदीपराज उपाध्याय परेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार