सिएरा लियोनमा ट्यांकर विस्फोट हुँदा ९२ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको राजधानी फ्रिटाउनमा तेल बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ९२ जनाको मृत्यु भएको छ । अरु १०० भन्दा धेरै घाइते भएका छन् ।

सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (एनडीएमए)का सञ्चार निर्देशक मोहम्मद लमराने बाहले दिएको जानकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । गम्भीर घाइतेको अवस्था हेर्दा मृतकको संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ ।

घाइतेहरूलाई अहिले नजिकका अस्पतालमा भर्ना गरिएको छ । कार्यवाहक स्वास्थ्यमन्त्री अमरा जम्बाइका अनुसार १०० भन्दा धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटना निकै डरलाग्दो भएको अधिकारीहरूले जनाएका छन् । साथै राष्ट्रपति जुलियस माडा बायोले घटनाप्रति दुख व्यक्त गर्दै आफू पीडितको साथमा रहेको प्रतिक्रिया दिएका छन् । उनले पीडित परिवारलाई जतिसक्दो सहयोग गर्ने बताए ।

इन्धन भरिएको ट्याङ्करमा भएको विस्फोटको आवाज शहरभन्दा निकै परसम्म सुनिएको थियो भने आगोको ज्वाला नजिकका बस्तीमा फैलिएको थियो । आगोका कारण लामो समयसम्म घटनास्थलमा पुग्न नसकिएको स्थानीय अधिकारीहरूले जानकारी दिए ।

फ्रिटाउनका मेयर यवोन अकी-सयरले दुर्घटनाबारे फेसबुकमा जानकारी दिएका छन् । उनका अनुसार इन्धन बोकेर गुडिरहेको ट्याङ्करलाई अर्को ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

यसअघि २०१९ मा पूर्वी तान्जानियामा यसैगरी ट्यांकर विस्फोट हुँदा ८५ जनाको मृत्यु भएको थियो । साथै २०१८ मा कंगोमा भएको यस्तै ट्यांकर विस्फोटमा ५० जनाको ज्यान गएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार