प्रचण्डले जीपलाइन खेल्दा धुलिखेल पर्यटनमा तरङ्ग

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही कात्तिक पहिलो साता धुलिखेलस्थित साहसिक खेल ‘जीपलाइन’मा रमाए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड जीपलाइनमा जत्ति रमाए, त्यसको दोब्बर खुशी खेलका सञ्चालकहरुमा देखिए । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरुङ्ग पैदा भइदिनु ।

आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बस्नुभएका अध्यक्ष प्रचण्ड भोलिपल्ट फर्कँदा काभ्रेपलाञ्चोकको पर्यटकीय धुलिखेलस्थित जीपलाइन खेलमा रमाएका थिए । उनको जीपलाइन खेलले धुलिखेलको पर्यटन क्षेत्रमा तरङ्ग नै पैदा भएको देखिएको छ । त्यतिबेला अध्यक्ष प्रचण्डले जीपलाइन खेलपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए। अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्नेगरेको छ । यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ ।

“पूर्वप्रधानमन्त्री प्रचण्डले जीपलाइन चढेपछि यसमा चढ्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ, धुलिखेलमा जीपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ”, वल्ड वाइड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले भने । उनका अनुसार त्यसदिन अध्यक्ष प्रचण्ड स्वतःस्फूर्त जीपलाइन खेल्न स्टेशन आएका हुन् । जीपलाइनको ‘टेकअफ’ धुलिखेल नगरपालिका–८ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेशन’ पाँचखाल नपा–५ स्थित खावासम्म एक हजार १०० मिटर लम्बाइको छ । विसं २०७५ को अन्त्यबाट सञ्चालनमा आएको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी)तीन प्रकारको खेल्न पाइन्छ ।

जीपलाइन खेलले मात्रै एक दिनको धुलिखेल घुमाई नसकिने भएकाले पर्यटकीय देवीस्थान र गोसाइँस्थान डाँडामा रमाउनु आन्तरिक पर्यटकको तालिका नै बन्ने गरेको पाइन्छ । “हालका बिदामा साथीहरु मिलेर जीपलाइन जाने र धुलिखेलका डाँडा घुम्ने गर्छौँ”, भक्तपुरका अनिष थापाले भने । धुलिखेलको पर्यटनमा चाडपर्वले पनि चहलपहल बढाएको पाइएको छ । विषेशगरी भक्तपुर, काठमाडौँ, ललितपुर र नुवाकोटबाट धुलिखेलमा आन्तरिक पर्यटक आउने गरेको जनाइएको छ ।

त्यसो त गत भदौ दोस्रो सातादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुशी लाग्दै आएको छ । त्यसयता होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्दै बितेको एक महिनामा दैनिक आन्तरिक पर्यटकको आउजाउ पनि हुन थालेको उनले बताए । उनले भने, “भदौयता कार्यक्रमका बुकिङसँगै दैकिजसो आन्तरिक पर्यटक आउन थालेका छन् ।” चाडपर्वले पर्यटनमा थप चहलपहल बढेको हुनसक्ने उनको तर्क छ ।

प्रक्षेपण गरिएअनुसार कोरोना तेस्रो लहर आउला–नआउला तर, कोरोना सङ्क्रमणदर सङ्ख्या निकै ओरालो लागेपछि हाल धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ । “अब व्यवसायले रुप फेर्लाझैँ आशा जागेको छ, कोरोना तेस्रो लहरको चिन्ता पनि उत्तिकै त छ तर, हाल होटल–पर्यटन सहज बन्दै गएको छ”, उनले भने । पचास शय्याको क्षमतामा रहेका होटल सारथीले विभिन्न छुटसहितका प्याकेज कार्यक्रमसमेत सार्वजनिक गरेको छ । कोरोनाका दुईवटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा ब्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको महामारी प्रक्षेपण हुने खतरा बढेको धुलिखेलका होटल व्यवसायी बताउँछन् । यद्यपि, व्यवसाय लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने हैन ।

कोरोनाको जोखिमपछि हाल पुनः बामे सर्दै गरेका होटल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान)का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । “अब सङ्क्रमणदर निकै घटेर होटल–पर्यटन व्यवसाय लयमा फर्कने भएपछि हामी निकै खुसी छौँ”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने । दैनिक २०० को हाराहारीमा उनको रिसोर्टमा आन्तरिक/बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झरेको थियो । उनले भने, “अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दैछन्, अब विदेशी पर्यटकको पर्खाइमा छौँ ।” उनका अनुसार अध्यक्ष प्रचण्डले जीपलाइन खेल्दा धुलिखेलको पर्यटनको शान बढ्दै गएको छ ।

गत वर्षको कोरोना त्रासपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनायो । धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनाएको छ । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले ब्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौ महिनामा विशेष तीन प्याकेजसमेत घोषणा गर्नुपरेको थियो । गतसाल कोरोना भाइरस सङ्क्रमणदर घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभाष यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैँजूले बताए । “दोस्रो लहरपछि पुनः हाल आन्तरिक पर्यटक बढ्दै गएको छ, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षाकृत छौँ”, होटल माउण्ट प्रिन्सेस्का सञ्चालकसमेत रहेका सैँजूले भने ।

पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौँ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार