मनरुपाको दुःख : २६ वर्षअघि पहिरोले साइँलो छोरो पुर्यो, अहिले काइँलो

पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ। पहिरोले खेतबारी भिर बनेको छ। घर वरिपरि पहिरो गएको छ।

बसाइँ सरेर जाने ठाउँ पनि छैन। ठूलो पानी परे पहिरोले घर नै तान्ला भन्ने पिर त छँदै छ, आफ्नै ठाउँमा पहिरोका कारण २ जना छोरा गुमाउनु पर्दा मनरुपाको मन थामिएको छैन। ६२ वर्षीया मनरुपाले पहिरोकै कारण २ छोरा र ४ जना आफन्त गुमाउनुपरेको छ। अझै पनि पहिरोका कारण कति बेला के हुने हो भन्ने पिरमै उहाँका दिन बितिरहेका छन् ।

‘मेरो त भाग्य नै यस्तै होला,’ मनरुपा गहभरि आँशु पार्दै भन्छन् , ‘पापी पहिराले पहिला साइँलो छोरा लग्यो, अहिले काँइलो।’

२६ वर्षको अन्तरालमा २ छोराको पहिरोमा परी मृत्यु भएपछि मनरुपा विक्षिप्त र उदास छन्। जोखिमपूर्ण बस्ती रहेको मिक्लाजुङ–१ अठभैयाका एकाघरका दाजुभाइको २६ वर्षको अन्तरालमा पहिरोले पुरेर मृत्यु भएको हो। मनरुपाका अनुसार विसं २०५२ मा गएको पहिरोमा उनका साइँलो छोरासहित उनकी बहिनी, बहिनीका २ छोरा र मनरुपाका मामाको ज्यान गएको थियो। पहिरोको जोखिम हुँदाहुँदै पनि अन्यत्रै बसोबास गर्नसक्ने अवस्था नभएपछि अठभैयाका सात दलित परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए।

यस वर्ष बेमौसमी वर्षापछि पुस्तौँदेखि खेती गर्दै आएको बारी तथा भिरपाखा भत्किए। मनरुपाका काइँला छोरा सन्तोष नेपाली २६ वर्षअघि पहिरो गएको स्थानभन्दा केही तल घर बनाइ बसेका थिए। गत कात्तिक २ गते अत्यधिक वर्षा भएका कारण गाई गोठमा पानी पसेपछि सन्तोष भल कटाउँदै थिए। क्षणभरमै आफैँले खेती गर्ने गरेको बारी भत्किएर सन्तोषलाई पुर्‍यो ।

उनकी श्रीमती र छोराछोरी गुहार माग्दै चिच्याए। नजिक भएका घटनास्थल पुगिसक्दा सन्तोषको मृत्यु भइसकेको थियो। आँखैअघि दुई छोरा गुमाएर पनि जोखिममै बस्नुपर्दा मनरुपाको मन मानेको छैन।
‘हामी यस्तैमा बसेका छौं। माथिबाट पहिरोले थिच्दैछ, तलबाट तान्दैछ,’ मृतक सन्तोषका तीन वर्षे छोरालाई काखमा च्यापेर आँगनमा आइपुगेको पहिरो देखाउँदै मनरुपाले भनिन्।

सात दलितसहित अठभैयाका नौ परिवार वर्षौंदेखि जोखिमपूर्ण रूपमा बसोबास गरिरहेका छन् । दुई खोल्सीका बीचमा रहेको पाखामा घर बनाएर बसेका दुवैतर्फ पहिरो झर्दै गएपछि अत्तालिएका छन् ।
अठभैयाकी सविना नेपाली भन्छिन्, ‘अलिअलि पहिरो वर्षौंपिच्छे गइरहेको थियो । यसपालि ठूलो पानी परेपछि यहाँ बस्नै नसकिने अवस्था आयो।’  पीडितले जोखिममा गुजारा चलाउँदै आएका भए पनि अहिलेसम्म यहाँ सरकारी उपस्थिति हुन सकेको छैन।

पहिरोका कारण सबै घर जोखिममा छन् भने मृतक सन्तोषको घर बस्नै नसकिने अवस्थामा छ। सन्तोषकी श्रीमती र दुई छोराछोरी मूल घरमा आश्रय लिएर बसेका छन्। ‘पहिले मेरो छोरोसहित आफन्त बित्दा सरकारले ७ हजार राहत, भाँडाकुँडा, ओढ्ने ओछ्याउने दिएको थियो,’ मनरुपा भन्छिन्, ‘यसपालि हामीलाई हेर्न कोही पनि आउनुभएन।’

हुन त मनरुपाको जस्तै दुःख पाँचथरको मिक्लाजुङ गाउँपालिकाका धेरै स्थानीयवासीको छ। बाढी र पहिरोमा परी हालसम्म मिक्लाजुङमा मात्रै २२ जनाको ज्यान जानुका साथै तीन जना बेपत्ता छन्। यहाँ सडक, विद्युत्, खानेपानी, सिँचाइ, घर तथा गोठ, सार्वजनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्था, खेतबारी तथा कृषिउपजमा बाढी र पहिराले निकै ठूलो क्षति पुर्‍याएको छ ।

बाढी र पहिराले सिङ्गो गाउँपालिका नै क्षतिविक्षत् र अस्तव्यस्त हुँदा क्षतिको पूर्ण विवरणसमेत तयार पार्न नसकिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए।

बेमौसमी वर्षाका कारण बाढी र पहिराले पीडित बनाएका सर्वसाधारणलाई राहत र पुनःस्थापनामा सरकारी निकायबाट हालसम्म कुनै पनि काम हुन नसकेको मिक्लाजुङ–७ लेखगाउँका सञ्जय राईले बताए।

Loading...