प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका २२ पदका लागि एकै चरणमा उपनिर्वाचन गर्न तयार रहेको बताएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचन गर्न तयारी थालेको निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न सकिने बताएको हो ।

आयोगका अनुसार हाल प्रतिनिधि सभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोग प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन मात्रै होइन अबका दिनमा नियमित रूपमा गर्नुपर्ने सबै निर्वाचन देशभर एकै चरणमा गर्न आयोग तयार रहेको बताएका हुन् । ‘निर्वाचन आयोग प्रदेश सभा र प्रतिनिधि सभातर्फको उपनिर्वाचन एकै चरणमा गर्न तयार छ, उपनिर्वाचन मात्रै होइन भोलिका दिनमा गर्नुपर्ने सबै तहका निर्वाचन एकै चरणमा गर्न पनि आयोग तयार र सक्षम छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

आयोगले आगामी २० फागुनमा रिक्त हुने राष्ट्रिय सभाका १९ पदमा उपनिर्वाचन गर्न ७ माघको मिति सरकारसँग प्रस्ताव गरेको थियो । राष्ट्रिय सभा कानुनअनुसार पद रिक्त हुनु ३५ दिनअघि उपनिर्वाचन गरिसक्नुपर्छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार