सामाजिक रुपान्तरणमा भूमिका खेल्ने व्यक्ति नै चलचित्रमा पनि रियल हिरो बन्न सक्छ

हिरो हुन सामाजिक रुपान्तरणमा भूमिका निर्वाह गर्नुपर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका छन ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले बुधबार आयोजना गरेको सिनेमामा नायकत्वको प्रश्न विषयक अन्तर्क्रियामा सहभागी वक्ताहरुले नायकका बारेमा रहेको परम्परागत धारणा परिवर्तन हुन थालेको बताए ।
लेखक पत्रकार युग पाठकको सहजिकरणमा सम्पन्न भर्चुअल बहसमा चलचित्रकर्मी, सञ्चारकर्मी तथा शिक्षाविद्हरुले नेपाली चलचित्रमा पात्र भन्दा विषयवस्तुमा जोड दिनुपर्ने समान धारणा राखेका थिए । उनिहरुले नायकजस्ता पात्र निर्माण भएपनि ‘फर्मूला’मा आधारित नायक पात्रको विस्तारै अवसान हुँदै गएको बिचार व्यक्त गरे । सहभागिले समाजभन्दा फरक काल्पनिक नायकको पात्र खडा गरेर सुपर हिरो जन्माउन नभई जुनसुकै पात्र पनि कथाभित्रको नायक हो भन्ने अवधारणा विकास गर्दा नेपाली चलचित्रको उचाई बढ्ने बताए ।

चलचित्र निर्देशक दिपेन्द्र के खनालले नेपाली चलचित्रमा नायकको भूमिका महत्वपूर्ण हुने भएपनि यसभन्दा महत्वपूर्णको यसको विषयवस्तु हुने उल्लेख गरे ।
परम्परागत रुपमा नायकनै चलचित्रमा मुख्य रहने बुझाई पछिल्लो समय हराउँदै गएको भन्दै उनले सामान्य भूईमान्छेका विषयहरु समेटिएका चलचित्र दर्शकमाझ लोकप्रिय बनेको उदारहण पेश गरेका थिए । नायक सर्वगुण सम्पन्न पुरुष नै हुनुपर्छ भन्ने आम बुझाइ रहेकोमा यो समयसँगै परिवर्तन हुन थालेको बताए । आफूले अहिले चलचित्र निर्माण गर्दा हरेक पात्रलाई नायककै रुपमा बुझेको उनको भनाइ थियो ।
यस्तै शिक्षाविद रेशु अर्याल ढुंगानाले भारतीय चलचित्रका पात्रहरुको उदारहण दिदैं नेपाली चलचित्रमा नायक खोज्ने तर बास्तविक नायकको खोजीमा अल्छि गर्ने प्रवृति बढेको बताईन । ढुंगानाले गुणैगुणले भरिएको परम्परागत नायकको रुप परिवर्तन हुँदै अवगुण पनि भएको नायक चलचित्रमा देखा पर्न थालेको बताइन् । पछिल्लो समय अभिनेत्री रेखा थापा लगायतले पनि नायकत्वको गुण विकास गरेको भन्दै यसको प्रशंसा गरेकी छन ।
उनले नायकलाई खडा गरेर उसको नायकत्वको लागि कृत्रिम वातावरण बनाइने गरेको र त्यसले बालबालिकामा नकारात्मक प्रभाव पार्ने बताइन् ।

सञ्चारकर्मी तथा निर्देशक संगीता श्रेष्ठले राम्रो लुगा लगाउने निरीह र अबला नायिकालाई बचाउने पात्रलाई नै नायक भन्ने अवधारणा विस्तारै परिवर्तन हुँदै गएको बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार