सरकारले इन्धनको मूल्य बढाएसँगै बढ्यो हवाई भाडा, कहाँको कति ?

सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएको छ । वायुसेवाले झन्डै १२ प्रतिशतले हवाई भाडामा फ्युल सरचार्ज बृद्धि गरेका छन् । आयल निगमले शुक्रबार रातीदेखी लागू हुने गरी ८६ रुपैया प्रति लिटर पर्ने एयर टर्बाइन फ्युल (हवाई इन्धन) मा १० रुपैया बृद्धि गर्दै ९६ रुपैँया पुर्‍याएकाले आन्तरिक उडानमा रहेका वायुसेवाले हवाई भाडामा यात्रुले तिर्ने फ्युल सर चार्ज झन्डै १२ प्रतिशतले बृद्धि भएको हो ।

वायुसेवा कम्पनीले हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा ४४० रुपैयाँसम्म वृद्धि गरेका छन् । अब काठमाडौंबाट धनगढी उड्ने यात्रुले उक्त शूल्क बढी तिर्नु पर्नेछ ।सबैभन्दा कम काठमाडौंबाट सिमरा उड्ने यात्रुले तिर्नुपर्छ । यो रुटका लागि इन्धनको चार्ज ९५ रुपैयाँ बढी लाग्ने छ । नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य अनुसारको समायोजन सुत्रका आधारमा वायुसेवा कम्पनीकालागि नयाँ फ्युल सर चार्ज अनुमोदन गरेको छ ।
हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटरबाट बढेर ९६ रुपैयाँ प्रतिलिटर पुगेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साविकको तुलनामा ३४५ रुपैयाँ बढी पर्छ । भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ इन्धन चार्ज बढी लाग्ने छ ।

काठमाडौंबाट नेपालगञ्जमा ३३०, तुम्लिङटारमा १८५, सुर्खेतमा ३४५ र राजविराजमा २०५ रुपैयाँ बढी लाग्ने छ । पोखरा–भरतपुरमा ११०, पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब ३१५ रुपैयाँ बढी लाग्ने छ । विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । भरतपुर–भैरहवा रुटमा १३५ रुपैयाँ इन्धन चार्ज बढेको संघले जनाएको छ ।

आन्तरिक उडानको हवाई टिकटमा एयर फेयर (भाडा), फ्युल सर चार्ज र एयरपोर्ट ट्याक्स गरी तीन शीर्षकमा यात्रुले रकम तिर्छन् । प्राधिकरणको उडान अनुमती शाखाकाअनुसार, आन्तरिक उडानमा प्रति यात्रु प्रति घन्टा ३ हजार ६३ रुपैयाँ बराबरको हवाई इन्धन खपत हुन्छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार