कुलमानले भने – ढुक्कसँग तिहारमा झिलिमिली गर्नुस्, बिजुली अभाव हुँदैन

नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको छ ।  प्राधिकरणले यो वर्ष तिहारको लक्ष्मी पूजाको दिन विद्युत् उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गर्दै लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको जनाएको हो ।
मङ्गलवार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति उपकरण चलाए पनि समस्या नहुने बताएका छन् ।
लक्ष्मी पूजाको दिन बढी विद्युत् खपत हुने उद्योग धन्दा, कलकारखाना बन्द हुने हुँदा कुलेखानी जलाशयलाई भार नदिईकनै उच्च माग व्यवस्थापन गर्न सकिने उनले बताए ।
‘यो तिहारमा हामीले १५ सय मेगावाट भन्दा बढी एक्सपोज गरेका छैनौँ, हामीसँग जेनेरेसन अहिलेसम्मको करिब २ हजार प्लस मेगावाटमा हामी जलविद्युत मात्रै उत्पादन जडित क्षमता छ, १५–१६ सय जलविद्युत अप्रेसनमा छ,’ उनले भने, ‘बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन । सबै उपभोक्ताले निर्धक्कसँग तिहारमा झिलिमिली गर्दा हुन्छ ।’
उनले अहिले प्रसारण प्रणालीमा जडित क्षमता २ हजार मेगावाट माथि रहेको र आन्तरिक उत्पादनले नै माग व्यवस्थापन गर्न सकिने जिकिर गरेका छन् ।  उनले अहिले मिटरको सामान, ट्रान्सफर्मर, तार लगायतका बस्तुको अभाव भएका कारण थप बिधुतिकरणका साथै मागेकै समयमा मिटर उपलब्ध गराउन नसकिएको बताए ।
त्यस्तै उनले वितरण प्रणालीको सुधारका लागि चाँडै ३ हजार नयाँ ट्रान्सफर्मर खरिद गर्न लागिएको जानकारी दिएका छन् । प्राधिकरणले दुधकोशीलाई अघि बढाइसकेको, अपर अरुण पनि अघि बढाउने लगायतका आयोजना बढाउने क्रममा रहेको उनले बताए ।
उनले विद्युत् हिउँदको माग व्यवस्थापन गर्न जलाशय र अर्ध जलाशय जलविद्युत आयोजनाको सन्तुलन मिलाउन आवश्यक रहेको र प्राधिकरण त्यसैमा केन्द्रित रहेको पनि धारणा व्यक्त गरेका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार