कर्णालीका मुख्यमन्त्री शाहीले लिए शपथ, भागबण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहीलाई मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् ।

कांग्रेस नेता शाहीलाई  कलौनीले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार नै प्रदेश प्रमुख कलौनीले अर्को सरकार गठनका लागि मंगलबार राति ७ः३० बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

गत वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उनलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेका हुन् । जीवन शाहीले प्रदेशसभामा २१ सांसद्‍को समर्थन पाएका छन् ।

शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । कर्णालीमा कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने शाही पछिल्लो पटक हुम्लाबाट सांसद् बनेका थिए । शाही कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् समेत हुन् ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद्समेतगठन भने गरेनन्। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा सहमति नजुटे पछि शाही एक्लैले शपथ ग्रहण गरेका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार