को हुन् प्रदेश १ मा मुख्यमन्त्री बनेका राजेन्द्र राई ?

प्रदेश १ मा नेकपा (एकिकृत समाजवादी) का नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । उनी एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।  भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका राजेन्द्र भोजपुर क्षेत्र नम्बर क बाट एमालेको तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी १९ हजार दुई सय ९७ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनको मत निकतटम प्रतिद्वन्द्वी संघीय समाजवादीका अजम्बर काङ्माङ राईभन्दा सात हजार सात सय ५६ मत बढी ल्याएका थिए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेका राजेन्द्र अनेरास्ववियूको दुई कार्यकाल अध्यक्ष भए । उनी ५६ देखि ५९ र ५९ देखि ६१ सालसम्म उनी अनेरास्ववियूको दुई कार्याकाल अध्यक्ष भएका थिए । विद्यार्थी राजनीतिको उपल्लो तहमा पुगेपछि राजेन्द्र भोजपुरभन्दा बढि काठमाडौंमा बसे ।

उनी पहिलोपटक एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भए । उनले वैकल्पिक केन्द्रीय सदस्यको शपथ नलिने भन्दै शपथ कार्यक्रममा गएनन् । एमालेको बुटबल नवौ महाधिवेशनमा राजेन्द्र राई केन्द्रीय सदस्य निर्वाचित भए ।

एमाले नेता माधब नेपाल नजिक रहेका राजेन्द्रलाई भीम आचार्य र शेरधन राईका बीचमा मुख्यमन्त्रीको रूपमा प्रतिस्पर्धा हुँदा विकल्पको रूपमा हेरिएको थियो । उननले प्रदेश सभाको निर्वाचन जितेसँगै आफू मुख्यमन्त्रीका लागि योग्य रहेको बताएका थिए । तर उनलाई त्यो बेला मुख्यमन्त्री बन्न भीम आचार्यले छेके । माधव झलनाथ गुटका नेताका रूपमा रहेका भीम आचार्य संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा राजेन्द्रले भीम आचार्यको काँध थापे । भीम आचार्य शेरधन राईसँग दुई मतले संसदीय दलको नेतामा पराजित भएपछि एमालेको तर्फबाट शेरधन मुख्यमन्त्री बने ।

एउटै जिल्लाका शेरधनसँग राजेन्द्रको भने हार्दिक सम्बन्ध भएन । जहिलै प्रतिस्पर्धीको रूपमा रहेका राजेन्द्रले बीचमा पनि शेरधन राई नेतृत्वको सरकार ढलाउन प्रयास गरे । तर त्यो बेला पनि उनले भीम आचार्यलाई मुख्यमन्त्री बनाउने जोड बल थियो । तर एमालेमा भएको १० बुँदे सहमतिसँगै भीम आचार्य एमालेमा बसे भने राजेन्द्र राईले एकीकृत समाजवादी रोजे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार