मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

प्रदेश -१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा दिएको घोषणा गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ ।

उनले दिएको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गर्नेछन् । राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय जाने पनि मुख्यमन्त्री आचार्यले बताए ।

पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई  मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार