प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर आन्दोलन

कानुन व्यवसायी भन्छन्- हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेकाे छ ।

गत शुक्रबार बसेको बारको कार्यसमिति बैठकले विरोधका कार्यक्रम सार्वजनिक गर्दै जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी बारले विरोध कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।

बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताएका छन् । प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको हुँदा जबरालाई इजलासमा नबस्न पनि बारले माग गरेको छ ।

यसैबिच प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेको श्रेष्ठको भनाइ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार