केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको जनाएको हो ।

केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालु आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।

छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिँदै बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने भएको छ । बीउविजन ऐन, २०४५ ले नेपालमा सूचिकृत एवं दर्ता भएका बीउविजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार