मुगु दुर्घटनामा बाँचेका घाइते भन्छन्, ‘बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि के भयो थाहा छैन’

‘बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिए । एक्कासी केही पड्किएको आवाज आयो । त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो । चार बल्ड्याङ खाँदासम्म होस थियो । त्यस पछि के भयो थाहा छैन,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा घर बताउने हर्कबहादुर शाहको भनाइ हो यो ।

कहाली लाग्दो दुर्घटनामा बाँचेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घटना हुँदाखेरीको अवस्था बताएका हुन् । उनको भनाइमा चालकले राम्रै चलाएका थिए । ‘दुर्घटनामा ड्राइभरको दोष भएजस्तो लाग्दैन,’ उनी सुनाउँछन् ।

२८ जनाको मुगुमै घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ‘उपचारका लागि १५ जना बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर शिक्षण अस्पताल पठाइएको हो । उपचारका क्रममा चारजनाको मृत्यु भएसँगै मृतकको संख्या ३२ जना पुगेको छ,’ उनले भने ।

नेपालगन्जबाट सदरमुकाम गमगढी आउँदै गरेको बस मंगलबार अपराह्न पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।

बसको चालक साइडको पाग्रा पञ्चर भएर अनियन्त्रित भई भीरमा खसेर दुर्घटना भएको महतले बताए । ‘पञ्चर भएपछि बस बल्ड्याङ्ग खाँदै करिब २ सय मिटर तल खसेको थियो,’ उनले भने, ‘बस स्पिडमा थिएन । टायर पञ्चर भएर अनकन्ट्रोल भई खसेको हो ।’

बसमा चालकरसहचालकसहित ४५ जना सवार थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार