हनुमानढोकाको दसैंघरमा भित्राउन गोरखा दरबारबाट पठाइयो फूलपाती

काठमाडौंस्थित हनुमानढोका भित्राउने फूलपाती गोरखादरबारको दसैंघरबाट पठाइएको छ । गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्राएपछि दसैं भित्रिएको भन्ने प्रचलन छ ।

हनुमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा फूलपाती भित्राउन मंगलबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराइ, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए । बा२झ २१२९ नम्बरको गाडीमार्फत हनुमाढोकामा भित्राउन फूलपाती पठाइएको हो । उक्त फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा भित्राउने कार्यक्रम छ ।

गोरखा नगरपालिका–५ पस्लाङ क्षेत्रबाट फूलपाती संकलन गरिएको थियो । वर्षौदेखिको परम्परालाई निरन्तरता दिँदै फूलपाती काठमाडौं पठाइएको गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराइले बताए । नवपत्रिकामा अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका, हलेदो लगायत रहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, गोरखा दरबारका पुजारीहरु लगायतको उपस्थितिमा फूलपाती पठाइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार