एउटै मञ्चमा किसान श्रेष्ठसँग रामकुमारीको असहमति, बर्साइन् प्रश्नै प्रश्न

न्यायोचित वितरणको प्रणालीलाई अंगाल्न नसक्दा केपी ओली नेतृत्वको सरकार ढलेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् । तनहुँमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाक्रीले हरेक नागरिकलाई मेरो राज्य भन्ने अनुभूति गराउनुपर्ने बताइन् ।

शुक्रबार मात्रै शपथ ग्रहण गरेकी उनले भनिन्, ‘हरेक नागरिकलाई मेरो राज्य मेरो सरकार भन्ने प्रत्याभूति गराउने कर्तव्य राजनीतिको हो । त्यसमा हामी दत्तचित्त भएर लाग्छौँ ।’

शक्तिको पछाडि विकास नदौडने उनको प्रस्टोक्ति छ । आफ्नै पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको तनहुँमा विकासको लहर ल्याउनेु उद्घोषमा असहमति जनाउँदै भनिन्, ‘तनहुँले मन्त्री पायो विकास यहीँ मात्र दौड्ने, हुम्लाले के गर्ने ? गुल्मीले मन्त्री पायो विकास त्यहाँ हुने, पर्वतले के गर्ने ? म सामाजिक न्यायको कुरा गर्छु । जहिलेदेखि राजनीतिलाई बदल्नुपर्छ भन्ने बुझे त्यहीँ बेलादेखि म न्यायोचित वितरण प्रणालीको पक्षमा छु ।’

यसअगाडिको दुई तिहाईको सरकारले वितरण प्रणालीमा न्यायोचित वितरण नगरी अन्यायपूर्ण व्यवहार गरेकाले विद्रोह गरेर नयाँ पार्टी खोलेको मन्त्री झाँक्रीले स्पष्ट पारिन् ।

अनुभवका हिसाबले आफू नयाँ भए पनि अन्धाधुन्ध काम नगर्ने उनको जिकिर छ । उनले भनिन्, ‘राजनीतिले कसरी गति लिन्छ, कहाँबाट प्रवेश गरेर कहाँबाट निस्कन सकिन्छ भन्ने कुरा हामीलाई थाहा छ । हामीले केही न केही गरेर जानेछौं ।’ उनले सरकारमै रहे पनि भ्रष्टचार, कुशासन, गैरजिम्मेवारपन र तानाशाही प्रवृत्तिविरुद्ध लड्ने दाबी गरिन् । न्युज कारखाना

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार